सुनसरी । बराहक्षेत्र नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई अनलाईन व्यवस्थापन सूचना प्रणालीमा लैजान बराहक्षेत्र नगरपालिकाले ३ दिने सूचना प्रणाली तालिम बिहीबार सुरु गरेको छ ।
बराहक्षेत्रमा करिब ८१ वटा सहकारी भए पनि नियमित प्रतिवेदन बुझाउने करिब ६२ वटा सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई सहकारी शाखाले अनलाइन सिस्टमबाट सहकारी संचालन गर्न ३ दिने तालिम आयोजना गरेको शहकारी शाखा प्रमुख मातृका तिवारीले बताए ।
तालिमपछि सबै सहकारीले यस प्रणालीबाट सहकारीका गतिविधि विवरण प्रणालीमा लगाउनुपर्ने छ, जुन विवरण स्थानीय सरकारले नियाल्न सक्नेछ । अहिलेसम्म नगरभरी रहेका सहकारीहरुले प्रत्येक महिना नगरपालिकामा रहेको सहकारी शाखामा हस्तलिखित विवरण बुझाउँदै आइरहेका थिए ।
संस्थाका हरेक कुरालाई सहज बनाउन दोहोरो सदस्यीय भएको नभएको सबै थाहा पाउनु साथै अहिले सबै अनलाइन प्रक्रियामा जोड दिएको तिवारीले बताए ।
उक्त कार्यक्रम सहकारी विभाग काठमाडौंबाट कम्प्युटर इन्जिनियर आमोद पुडासैनी र काठमाडौंबाटै एमआइएस विज्ञ कृष्णहरि श्रेष्ठले ३ दिन सम्म सहजीकरण गर्नेछन् । तालिममा ६२ वटा सहकारीहरुका प्रतिनिधि सहभागी छन् ।

५ भागमा सहकारी : मेयर खनाल
सहकारीको कारोबार आधारमा सहकारी लाई ५ भागमा विभाजन गरेको नगरप्रमुख निलम खनालले बताए ।
सहकारीले वार्षिक रुपमा ९ हजार, ८ हजार, ६ हजार, ४ हजार र २ हजार गरी सेवा शुल्क तिर्नुपर्ने नगरसभाबाट पास समेत गरेको खनालले बताए ।


