इटहरी । मोबाइल लगायतका विद्युतीय उपकरण उत्पादक कम्पनी साओमीले इटहरीमा मंगलबारदेखि आफ्नो आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।
साओमीको पूर्वाञ्चल विक्रेता अरुण एण्ड व्रदर्शले इटहरीमा सञ्चालनमा ल्याएको शोरुमको साओमीका एशोशिएट डाइरेक्टर सुवोध कोठारीले उद्घाटन गरे । साओमीका उत्पादनहरुलाई पूर्वका उपभोक्ताले निकै मनपराएको भन्दै काठोरीले खुशी व्यक्त गरे । उनले साओमीले छोटो समयमै देशभर ११ वटा सोरुम सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।
नेपालका लागि साओमीको आधिकारिक बिक्रेता टेलिडिरेक्ट प्रा. लि. का कार्यकारी निर्देशक सञ्जय अग्रवालले इटहरीमा पूर्वकै पहिलो तथा देशभरको एघारौं शोरुम सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर नेपालगञ्ज, दाङ र धनगढी पछि इटहरीमा शोरुम सञ्चालनमा ल्याइएको हो । चाँडै पोखरामा पनि सञ्चालन गर्ने उनले जानकारी दिए ।
साओमीको ब्राण्डलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शोरुम सञ्चालनमा ल्याएकाले शोरुममा कुनै पनि छुट सुविधा भने छैन । साओमीले मोबाइलसहित टेलिभिजन, मोवाइल एसोसरिजका र इको सिष्टमका सामानहरु शोरुममा पाइने अग्रवालले जानकारी दिए ।
अन्य वितरकहरुसँग साओमीका सबै प्रकारका सामान एकै ठाउँमा उपलब्ध नहुने भएकाले साओमीका सबै उत्पादन एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालमा ल्याएको सोरुमका सञ्चालक तथा साओमीका क्षेत्रीय बिक्रेता अरुण एण्ड व्रदर्शका डाइरेक्टर अभिशेक तोदीले बताए ।
शोरुम उद्घाटनको अवसरमा साओमी नेपालका कन्ट्री जीएम अमितकुमार पाण्डे, टेलिडिरेक्टका जीएम दीपक श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो । खासगरि साओमीको उत्पादनको रुपमा रहेको इएमआई रेडमी मोवाइल र पोको मोवाइल पछिल्लो समय उपभोक्तामाझ निकै लोकप्रिय रहेको छ ।