इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ । बुधबार इटहरीमा आयोजित एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘मालती मंगले’ को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटनमा कलाकारहरू विजय बराल, वर्षा राउत, रामकृष्ण ढकाल, मेक्सम गौडेल तथा गायिका सलिना बिक लगायतको सहभागिता रहेको थियो । उनीहरूले संयुक्त रूपमा बोर्डको ब्यानर अनावरण गर्दै कार्यालय उद्घाटन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठ को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालय इटहरीको पश्चिम लाइन, ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको छ ।
कार्यक्रममा बोल्दै गायक तथा निर्माता रामकृष्ण ढकालले चलचित्रकर्मी र चलचित्र पत्रकारबीचको सम्बन्ध नङ र मासुजस्तै नजिकको रहेको बताए । उनले शाखाको आफ्नै कार्यालय स्थापना हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कलाकार विजय बरालले कार्यालयलाई चलचित्रकर्मीहरूबीच भेटघाट गर्ने “जक्सन” का रूपमा विकास हुने विश्वास व्यक्त गरे । त्यस्तै, नायिका वर्षा राउत ले पूर्व आउँदा अपनत्व महसुस हुने बताउँदै कार्यालय स्थापना गरेकोमा पत्रकारहरूलाई बधाई दिइन् ।
कार्यक्रममा संघका पूर्व उपाध्यक्ष जीवन पराजुलीले मोफसलका पत्रकारहरूको एकता प्रशंसनीय रहेको बताए। उनले सुनसरी शाखाको एकतालाई अन्य शाखाहरूका लागि उदाहरणीय रहेको उल्लेख गरे । त्यसैगरी, केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले कोशी प्रदेशका पाँच शाखामध्ये सुनसरी शाखाको आफ्नै कार्यालय हुनु गर्वको विषय भएको बताए ।
कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता कार्यालय स्थापना रहेको बताउँदै उक्त लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे । उनले सुनसरीलाई चलचित्रकर्मीहरूको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको र त्यसका लागि सबैको साथ आवश्यक रहने बताए ।







