काठमाडौँ । भारतको दिल्लीबाट राजनीति सुरु गरेको आम आदमी पार्टीले अन्ततः राष्ट्रिय पार्टीको हैसियत पाएको छ । एक दिनअघि नै दिल्ली नगर निगमको चुनावमा १५ बर्षदेखि सत्तारुढ बिजेपीलाई हराएको आम आदमी पार्टीले विहिबार गुजरातको मत गणना पनि राष्ट्रिय पार्टीको हैसियत पाएको हो ।
आम आदमी पार्टीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा ट्वीट मार्फत राष्ट्रिय पार्टीको दर्ता भएको जानकारी दिएको छ । अर्कोतर्फ, आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले यस अवसरमा गुजरातका जनतालाई धन्यवाद दिदै आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई बधाई दिएका छन् ।
उनले बिजेपीको गढ मानिएको गुजरातमा आम आदमीले किल्ला तोड्न सफल भएको बताएका छन् । आम आदमी पार्टीले गुजरातमा १३ प्रतिशत मत प्राप्त गरेको छ भने बिधान सभामा ५ सिट जितेको छ ।
२०१२ मा स्थापना भएको आम आदमी पार्टी १० बर्षको अवधिमा भारतमा राष्ट्रिय पार्टीको हैसियत पाएको छ । आम आदमीको अहिले दिल्ली र पञ्जाव राज्यमा सरकार छ भने भारतको राज्यसभामा १० सांसद रहेका छन् ।
त्यस्तै आम आदमीले गोवामा राज्य पार्टीको हैसियत पाएको छ भने गुजरातमा राज्य पार्टीको हैसियत पाएको छ ।
चार प्रदेशमा प्रदेश पार्टीले राष्ट्रिय पार्टीको हैसियत पाएसँगै आम आदमी पार्टी भारतको राष्ट्रिय पार्टी बनेको हो ।