‘बाबू उठ !’ आज अचम्म सित ममीले त्यति मायालु स्वरमा मेरो बिस्तारा छेउमा आइ मलाई उठाउनु भयो । उठेर ममि तिर यसो हेरँे, अचम्मै भएको थियो आज । ममीको मुहारमा बेग्लै खुशी झल्किएको थियो । ममी खुशी भएको देख्दा आफूपनी खुसी खुसी उठेँ ।
मेरो कोठाको भित्तामा झुन्डिएको घडीले बिहानको ८स्३५ को समय देखाएको थियो । जुन समय अन्यदिनहरुमा मलाई ममीले उठाउने समय भन्दा लगभग १ घन्टा २५ मिनेट अघिको थियो । त्यहि पनी ममीको हसिलो अनुहार सम्झदै बिस्ताराबाट बाहिर निस्किए ।
ओहो ! बाहिर त झनै अचम्म रहेछ । ममी मेरो दाँत माझ्ने ब्रस र पेस्ट लिएर उभिरहनु भएको थियो । अनि डाइनिङ टेबलमा खाना पनि तयार । अचम्म मान्दै वासरुममा गएर ब्रस गरि फ्रेसभएर डाइनिङ टेबल मा बसेर आफ्नो जन्ममिति सम्झिए । अह त्यो त होइन ! फेरि बाबा, ममी, आमा र बुवाको पो हो कि भनी सम्झिन खोजेँ । तर त्यो पनि मिलेन । मीठो परिकार देखेर जे सुकै होस भनी सोचेँ अनि धमाधम खाना खाए । धेरै पछि यति मीठो खाना खान पाइयो । त्यस माथी ममीको मीठो माया मिसिएको ।
ममीले हात मुख चुठेपछी चेन्जिङ रुममा लिएर जानू भयो । ओहो ! झन अचम्म त्यहाँ त । हरियो पेन्ट, आकाशे कलरको सर्ट, एउटा खोइ अङ्रेजीमा केही लेखिएको बेल्ट, अनि निलो पिँधमा त्रीभुज आकारको कपडाको लामो त्यन्द्रो अनि कालो जुत्ता र निलो जुराफ राखेको । “ल एता आउ“ ममीको स्वरमा अघिको माया अलिक कम भएको महसुस गर्न नपाउदै, पेन्ट, सर्ट, बेल्ट तथा जुराफ लगाइदिनु भयो ।
अघिको कपडाको त्यन्द्रो चाहिँ खोइ कसरी बटारबुटुर पार्दै मेरो घाटिमा दाम्लो जस्तै लगाइदिनु भयो । ‘अलिक यता आउ न’ ममीको स्वर अझै कडाहुदै आयो । तानेर कपालमा तेल दलि मिलाइदिनु भयो र जुत्ता लगाइ मलाई कँहि लान तयार पारिदिनु भयो । तर अचम्म ममी आफू चाहिँ बिहान जस्तो हुनुहुन्थ्यो त्यस्तै । खाली माया अलिक कम अनि स्वर कडापन । ‘ढिलो भैसक्यो, छिटो हिँड न’ अझै रुखो स्वरमा मलाई तान्दै तल बाटो छेउमा ल्यएर उभ्याउनुभयो ।
परबाट एउटा पहेलो रङ्को बस आइरहेको थियो । त्यो बस मेरो अगाडि आएर रोकियो । ममीले मैले केही थाहा नपाउँदै त्यस बस भित्र राखी दिनुभयो । अनि आनन्दको सासफेर्दै फर्किनुभयो । गाडी भित्र झनै धेरै अचम्म थियो । ‘ओहो सबै मेरो जस्तो कपडा लगाएका’ आफैलाई चिमोटेर हेरेँ तर, त्यो बिपना नै थियो । सबै पहिले कँहि देखे जस्ता । कोहि साना रोइरहेका । कोहि म जत्रा वा ठूला एकोहोरो मलाई घुरी रहेका ।
एकै छिन के सिटमा बसेको थिएँ । गाडीको अगाडि ढोकामा बसेको अन्कलले “ल लाइनमा बसेर उत्रने“ भनेर आदेश दिनु भयो र नभन्दै बस पनि रोकियो । लाइनमा बसेर उत्रिएँ । बाहिर निस्किएर हेर्दा एउटा ठूलो गेट र भित्रबाट मानिसहरु कराइरहेको आवाज आइरहेको थियो । डर मान्दै गेट भित्र गएँ । अझै अचम्म थियो त्यँहा । ठूला भवन, म जस्तै कपडा लगाएका अझै धेरै मानिस । अनि केही चाहिँ सर्ट, पेन्ट, कोट अनि अगिको जस्तो कपडाको त्यन्द्रो झुन्ड्याएका अलिक ठूला मनिस र केही केटि मानिस साडिलागएर एकदमै मुस्कानसहित हामीलाई स्वागत गर्न बसेका । एक जना सर्ट पेन्ट लगाएका भलाद्मी जस्ता मानिस आए र भने, “गुड मर्निङ हरि“ । मैले डराइडराई “गुड मर्निङ“ फर्काए । उनले मुस्कुराउदै तिम्रो कोठा यतातिर भनेर देखाइदिए ।
सुस्त गतिमा उनले भनेको कोठामा पसेँ । त्यहा त झन कतै पहिले देखेका जस्ता २०र२२ जना मानिसहरु थिए, मेरै उमेरका । कोठा सफा थियो, वरिपरि कागजमा केही लेखेर कोठा सजाइएको थियो । मेरो सामुन्नेको भित्तामा एउटा सेतो पाटी झुन्ड्याइएको थियो । डर मान्दै ती परिचित जस्ता देखिने मानिस बीच म पनि बसेँ । एकै छिनमा कसैले घन्टी बजायो र त्यसको केही मिनेटमा अघि मलाई बाटो देखाउने भलाद्मी आए । उनी पस्नासाथ सबै जना उठेर ‘गुड मर्निङ सर’ भनेर उभिए । म पनि उभिएँ । ती ब्यक्तिले ‘सिट डाउन’ भनेपछी सबैजना बसे अनि म पनि बसेँ । तिनले ३० मिनेट जति केहि भनिरहे । मेरो दिमाग भने अघिदेखि केही सम्झिन खोजी रहेको थियो । उनले ३० मिनेट केही भनेर “केही प्रश्न भए सोध“ भने । सबै चुपचाप बसे म भने आफ्नो ठाउँबाट उठेर डराउदै ‘आज यो सब के भइरहेको छ ?’ भनेर सोधे । सबै जना गलल हास्दै म तिर फर्किए ।
तर ती भलाद्मी मानिस मुस्कुराउदै एउटा ‘कोरोना’ भन्ने माहामारिले धेरै समय मानिसहरुलाई घरभित्र बस्न बाध्य बनाएको, साथै धेरै समयदेखि बिद्यालय पनि नखुकेको र आज देखि सम्पुर्ण कुराहरु ठिक भएर बिद्यालय खुलेको हुनाले म पहिले आफू पढ्ने गरेको बिद्यालयमा आएको, अनि मैले चिने जस्तो लागेका मानिसहरु मेरा कक्षाका साथीहरु रहेको र अघि ममीले लगाइदिएको चाहिँ मेरै बिद्यालयको युनिफर्म र कपडाको त्यान्द्रो चाहिँ टाइ रहेको जानकारी गराउनुभयो ।
त्यसपछी म निन्द्राबाट बिउझिएँ झही छर्लङ्ग भए । अझै मनमा एउटा प्रश्न बाँकी नै थियो । अघि ममीले मलाई बोकाइदिएको कालो भारी झोलाको त्यो चिज के रहेछ ? चुपचाप झोला खोलेर चिहाएँ, त्यहाँ भित्र त किताब र कापीहरु पो रहेछ । अनि एउटा प्लाष्टिकको डिब्बामा केही चिज थियो । त्यो डिब्बा खोले र हेरेँ, त्यस भित्र त मेरो मनपर्ने खानेकुरा ममिले माया गरेर हाली दिनु भएको रहेछ । अनि फेरि मनमनै मुस्कुराउदै ममीको त्यही बिहान उठाउँदाको ममीको हसिँलो अनुहार र माया सम्झिएँ ।