बराहक्षेत्र नगरपालिकामा खाद्यान्न तथा ग्यासका पसलहरुले सामानहरुको अनिवार्य मूल्य सूचि राखि सामाजिक दुरि कायम गर्दै प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म बिक्री गर्न पाउने भएका छन ।
बराहक्षेत्र भित्र उत्पादित तरकारी तथा दुग्धजन्य पदार्थ भिडभाड नगरि बिहान ९ बजेसम्म तथा बेलुका ५ देखि ७ बजेसम्म बिक्री गर्न सकिने नगरपालिकाले जनाएको छ । आइतबार बसेको नगरस्तरीय सुरक्षा संयन्त्रको बैठकले योसहित ४ निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेलले जानकारी दिए ।
बराहक्षेत्र भित्रका खोलाबाट विकास निर्माणका काममा असर नपर्ने गरि ढुङ्गा गिटी बालुवा बिहान ५ बजेदेखि १० बजेसम्म उत्खनन गर्न पाउने र दिउँसो ४ बजेदेखि ७ बजेसम्म ढुवानी गर्ने समेत पाउने निर्णय भएको अधिकृत पोखरेल बताए । उनका अनुसार ढुङ्गा गिटी बालुवा ग्राबेल उत्खनन गरि बैठकले तोकेको स्थानमा स्टक गरि राख्नुपर्ने छ र सो सामाग्री कार्यालयबाट स्टक गरिएको प्रमाणित गरि बिक्री गर्न समेत मिल्नेछ । जसका लागि बैठकले भलुवा चौरी ६४ बिघा नजिक, सुनसरी खोला छेउ, पटनाली खोलाको खारखोला छेउ र पटनाली खोलाको नडाहामा गरी ४ ठाउँमा स्टक गर्न पाउने भएको छ ।
तोकिएको अनुसार समयभन्दा अघिपछि ढुवानी, गिट्टी उत्खनन, पसल केही संचालनमा आएमा कारबाही समेत गर्ने निर्णय भएको छ । अधिकृत पोखरेलले बराहक्षेत्र नगर भित्र निर्माण लगायत कामहरु प्रभावित भएकाले सुरक्षा निकाय लगायतसँंग छलफल गरि यस्तो निर्णय गरेको बताए । उक्त निर्णय अर्को बैठक नहुनजेलसम्म खोला उत्खनन गर्न पाउने उनले बताए ।
उक्त बैठकमा नगर प्रमुख निलम खनाल, प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख सरणकुमार दाहाल, सशस्त्र प्रहरी बल वेस्ट चतराका प्रमुख असोक न्यौपाने, सामाजिक शाखाका अरुण मेहता, बराहक्षेत्र उद्योग वाणिज्य संघका प्रतिनिधि सोनाखम्बी निर्माण सेवा बराहक्षेत्र ४ का प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।