सुनसरीको रामधुनी ८ डुम्राहामा एक युवकको शव फेला परेको छ ।
डुम्राहा अर्ता र मोहोर टोलबीचको खेतमा प्रकाशपुर घर भएका करिब ३० वर्षका भीमबहादुर योगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी बिनोद शर्माले जानकारी दिए ।
मंगलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै रामधुनी ८ स्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलमा पुगेको थियो ।
शवको प्रकृति हेर्दा सोमबार राति नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शर्माका अनुसार योगी चोरी कार्यमा संलग्न रहेको र पटकपटक प्रहरीले नियन्त्रणमा समेत लिइसकेका व्यक्ति हुन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।