बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र १ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ ।
शनिबार राति २ बजे १२ वर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । छिमेकीको घरमा धामी लगाई सकेर बिहानको २ बजे (राति) घर फर्केका परिवारले ढोका खोलेर भित्र पस्दा आफ्नी छोरीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शंकास्पद देखिएपछी गहन अनुसन्धान सुुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट विशेष कुकुर(डग)सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न सोही स्थानका १५ वर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ । पक्राउ परेका बालकले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घरमा बालिका एक्लै रहेको अवस्थामा राति १० बजे १५ वर्षीय बालक चटपटे खान भनि गएको अवस्थामा उनीहरु बीच विबाद हुँदा ति बालकले मिनालाइ सिसाको बोत्तलले टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफु आफ्नै घरमा गएर सुतेको सोधपुछका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।