बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नेपाली कांग्रेस बराहक्षेत्र नगर कमिटीलाई मनोमानी गरेको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।
शुक्रबार बराहक्षेत्र नगरपालिकाको सातौं नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले ४ बुदे पत्र दिँदै सभा बहिस्कार गरेपछि मेयर खनाललाई ४ बुँदे पत्रमा लेखिएको आरोपलाई प्रमाणसहित पेस गर्न चुनौती दिएका हुन् ।
हैन भने बिनाकारण कसैलाई मनोमानी गरेको भन्दै झुटको खेती नगर्न आग्रह गरेका छन् ।
वडाध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले नगरसभामा लिखित असन्तुष्ट पत्र बुझाउँदै बहिस्कार गरेका थिए ।
कांग्रेसले नगर प्रमुखले ठेक्कापट्टा लगाउँदा आफ्ना मान्छेहरुलाई दिने गरेको, अनियमितता गरेको साथै नगर सभाको निम्तो बुझिसकेको आफ्नो पार्टीबाट निर्वाचित वडा अध्यक्ष पक्राउ पर्दा एउटा बिज्ञप्ति समेत जारी नगरेको आरोप लगाएको छ ।
उक्त आरोपलाई खनालले स्पष्ट पर्दै भने वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठलाई कहिले कहाँ ? के ? कारण प्रहरीले नियन्त्रणमा लिएको आफूहरु कसैलाई जानकारी नभएको बताए । ‘कुन आधारमा नगरपालिकाले प्रेस विज्ञप्ति निकाल्ने ?’ उनले भने, ‘नगरपालिका अधिकृत राजेश प्रसाद पोखरेललाई समेत थाहा नभएको बिषयमा कसरी विज्ञप्ति निकाल्नु ?’
उहाँहरुले लगाएको आरोप ठेक्कापट्टाका विषयमा पत्रपत्रिकामा ४ पटकसम्म सूचना प्रकाशित गर्दा समेत ठेक्का नलागे पछी नगरपालिकाले सबै ठेकेदारहरुलाई बोलाएर ९ हप्ताको छुट गरे जबर्जस्ती ठेक्का लगाएको खनालले प्रष्ट पारेका थिए ।
नगर प्रमुख खनालले कांग्रेसका जनप्रतिनिधिहरुले जनता ढाँट्ने काम भन्दा अरु थप काम अहिलेसम्म नगरेको भन्दै आफ्ना कमजोरीलाई लुकाई जनतामा भ्रम फिँजाउन उनीहरुले नगर सभा बहिष्कार गरेको बताए । आफू निर्वाचित भएर आएसँगै बराह नगर भित्र भएका तीब्रतम विकासका कामले कांग्रेस आत्तिएको उनको भनाई छ ।
नगर प्रमुख खनालले कांग्रेसले राजनैतिक चरित्र नै देखाउन नसकेको आरोप लगाए । ‘यदि कांग्रेसमा थोरै मात्र राजनैतिक चरित्र छ भने कहाँ कहाँ भ्रष्टाचार, अनियमितता भएको छ , देखाउनु पर्यो,‘ उनले भने । यदि कसैले आफूले अनियमितता गरेको पुष्टी गर्छ भने आफू जस्तोपनि सजायको भागिदार हुन तयार रहेको उनको भनाइ छ ।