इटहरी । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ आयोजना गर्ने भएको छ । आगामी माघ १६ र १७ गते क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको प्राङ्गणमा कार्यक्रम हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
आयोजकको अनुसार कन्क्लेभमा २५ वटा विद्यालयका तीन सय २५ जना विद्यार्थी तथा शिक्षकको सहभागिता रहनेछ । उपशाखाका सभापति उमेश राईका अनुसार प्रत्येक विद्यालयबाट विद्यार्थीका साथै शिक्षक नायक र सहनायक गरी १३ जनाको सहभागिता रहनेछ ।
विद्यालय तह तथा विद्यार्थीहरुमा रेडक्रसको महत्व, उद्देश्य र मानवीय सेवाप्रति सचेतना बढाउनु कन्क्लेभको प्रमुख उद्देश्य रहेको राईले बताए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न तालिम तथा सेमिनारसमेत आयोजना गरिने राईले बताए ।
कार्यक्रमको पहिलो दिन रक्तदान, रक्त समूह पहिचान तथा दन्त परीक्षणसम्बन्धी सेवा प्रदान गरिने सचिव होमनाथ खड्काले जानकारी दिए । कन्ल्केभले विद्यार्थीहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उनले बताए ।
आपतकालीन तयारी, सुरक्षित व्यवहार तथा मानवीय सेवासँग सम्बन्धित आधारभूत सीप विकास गर्ने लक्ष्यसहित कन्क्लेभ सञ्चालन गरिने कार्यक्रम संयोजक सुमन रेग्मीले बताए । आयोजकको अनुसार कार्यक्रममा अनुमानित कुल १५ लाख रुपैयाँ खर्च हुने छ ।






