काठमाडौं । टिकटकबाट चर्चित दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले चलचित्र लभ डायरिजको एक गीतमा अभिनय(नृत्य) गरेका छन् ।
नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको ‘लभ डाइरिज’को एक गीतमा उनीहरुको नृत्य प्रस्तुत गरेका हुन् । हायात होटलमा छायाँकन सकिएको ‘छम छम छम’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । अर्जुनकै शब्द रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर सुन्न सकिन्छ ।
प्रविण सिंहको करियोग्राफीमा खिचिएको यो भिडियोमा सुशिल र चलचित्रकी मुख्य नायिका रुविना थापासँगै टिकटकबाट चर्चामा आएका दिदीबहिनी प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा र कमला घिमिरेको अभिनय छ । सो भिडियोलाई संजय लामाले खिचेका छन् ।
गीतको छायांकनसँगै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र अब प्रेमदिवसलाई लक्षित गर्दै फागुनको २ गतेबाट रिलिज हुनेछ । चलचित्रको प्रदर्शन मिति यसअगाडि बारम्बार सर्दै आएको थियो ।
सौरभ चौधरीको निर्देशनमा बनेको लभ स्टोरी चलचित्रमा मधु बास्तोलाको कथा तथा पटकथा छ । साहिल खान एसोसिएट निर्देशकका रुपमा रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । चलचित्रमा सरोज तुलाधर सह–निर्माताको रुपमा छन् ।