रामधुनी । सुनसरीको रामधुनी नगरमा रहेको पिंक लोटस अंग्रेजी स्कुलले आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार झुम्कास्थित कल्पवृक्ष पार्टी प्यालेसमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले कविता वाचन, गायन, नृत्यका साथै अनुभवहरु सुनाएका थिए ।
स्कुलका प्रबन्ध निर्देशक रमेश कार्कीकाे सभापत्विमा भएको सो कार्यक्रममा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापा प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा जिल्ला प्याबसनका अध्यक्ष अनुप योञ्जन, जिल्ला सहसचिव गोपाल निरौला, इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायामाझी, झुम्का जेसीजकी अध्यक्ष कमला कार्की थापा, प्याब्सनका प्रदेश तथा जिल्लाका प्रतिनिधिलगायतको विशिष्ट आतिथ्यता रहेको थियो । प्रिन्सिपल बाबुराम खड्काले कार्यक्रमकाे बारेमा प्रकाश पारेका थिए ।
प्रहरी निरीक्षक रायामाझीले विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत यस्तो किसिमको कार्यक्रम गर्नु समग्र विद्यार्थीको क्षमता विकास हुने बताए । उनले फरक प्रसंगमा बालबालिकाहरुलाई प्रहरीसँग डराउनै पर्छ वा केही काम बिगार्दा प्रहरीको नामबाट डर नदेखाउन समेत अभिभावकहरुलाई आग्रह गरे । यसले पछिसम्म मानसिकतामा प्रहरीप्रतिको दृष्टिकोण डर र नकारात्मकमात्रै रहने उनको भनाई थियो ।
कार्यक्रममा विशेष अतिथिसमेत रहेका सुनसरी प्याबसनका अध्यक्ष योञ्जनले कोभिडले गर्दा अक्रान्त बनेको यस शैक्षिकक्षेत्र अब बिस्तारै लयमा फर्किएको बताए । विशेष अतिथि झुम्का जेसीजकी अध्यक्ष थापाले बालबालिकाहरुलाई घरबाटै संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिइन् । बालबालिकालाई कस्तो बनाउने अभिभावकले पनि चासो दिनुपर्ने र घरमा भएको समयमा बालबालिकाहरुसँग समय बिताउने, संस्कार, संस्कृति सिकाउनुपर्ने बताइन् ।
कार्यक्रमकी प्रमुख अतिथी उपमेयर थापाले बालबालिकाको समग्र विकासका लागि यस किसिमका क्रियाकलाप जरुरी रहेको बताइन् । उनले शिक्षण पेशा महत्वपूर्ण पेशा रहेको समेत बताइन् । विगत स्मरण गर्दै उनले लामो समय आफूपनि शिक्षण पेशामा आवद्ध भएको जानकारी गराउँदै भोलीका दिनमा अवसर मिले पुनः यही पेशामा फर्किने बताइन् ।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित आयोजित सो कार्यक्रममा विद्यार्थी तथा अभिभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।