रामधुनी। सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारमा १५ शैयाको साई हस्पिटल सञ्चालनमा आएको छ । रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले शुक्रबार औपचारिक रूपमा उद्घाटन गरे ।
लामो समयदेखि मेडिकल हलको रूपमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थालाई हस्पिटलको रूपमा स्तर उन्नति गरिएको हो । रामधुनी र आसपासका क्षेत्र मात्र नभएर पूर्वी पहाडी जिल्लाका बिरामीहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले साई हस्पिटलको परिकल्पना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गाप्रसाद फुयाँलले बताए । उनले नाफामा भन्दा पनि सेवालाई पहिलो प्राथमिकता दिने बताए ।
प्रमुख अतिथि रहेका नगर प्रमुख चौधरीले नगरमा स्तर उन्नति भएको साई हस्पिटलले रामधुनी र आसपासका क्षेत्रका बिरामीलाई धरान अथवा विराटनगर नै जानुपर्ने बाध्यतालाई हटाएको बताए ।
हस्पिटलले उद्घाटनको अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गरेको छ भने ल्याब र औषधिमा समेत छुट प्रदान गरिएको छ । एक हप्ते कार्यक्रम सञ्चालन गरेको साईले चैत्र २६ गते आइतबार अंगदान सम्बन्धी अन्तरक्रिया गर्न लागेको छ भने चैत्र २७ गते रक्तदान कार्यक्रम सञ्चालन गर्ने अस्पतालका जनसम्पर्क अधिकृत डिल्लीराम भण्डारीले बताए ।