रामधुनी । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्ष पछी पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाइएका साविक बक्लौरी ६ का ३२ वर्षीय तुलसी चौधरी र २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।
पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ साल वैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा साविकको एकम्बा गाउँ विकास समिती ४ का सुनेर कुमार ठाकुरलाई सामान्य बादविवादको विषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए ।
छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो । घटना घटाई फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल श्रावण २६ गते शेर्पालाई रामधुनी नगरपालिका ६ बाट तथा चौधरीलाई इनरुवा नगरपालिका ४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।