सुनसरी । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध मेयर शाहले रिट दर्ता गराएका हुन्। सर्वोच्च अदालतले उक्त रिटको पुस २० गते पेसी तोकेको छ।
मेयर शाहले आफूले ३० दिने म्यादको अन्तिम दिनमा विदा परेका कारण त्यसको भोलिपल्ट खर्च विवरण पेस गरेको रिटमा उल्लेख गरेका छन्। ‘अड्डा खुलेको पहिलो दिनमा विवरण पेस गर्न सकिने कानुनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विवरण पेस गरेको थिएँ। आयोगले महानगरपालिकाको नगर प्रमुख पदको उमेदवारले गर्न पाउने खर्चको हद ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको भए पनि म निवेदकले भने जम्मा ३ लाख ९४ हजार ४८९ रुपैयाँमात्र खर्च गरी सोको विवरण कानुन बमोजिम पेस गरेको थिएँ,’ रिटमा भनिएको छ।