सुनसरी । नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको पहिलो अधिवेशन सुरु भएको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउँदै उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’
सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
एमालेसहितका ७ वटा राजनीतिक दलहरूको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठुलो दलको रूपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् भने पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
प्रधानमन्त्री दाहालले मंगलबार संसद्मा विश्वासको मत लिने कार्यतालिका रहेकाे छ ।







