सुनसरी । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (शुक्रबार) पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज काठमाडौंको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको रुपमा लिएको छ, त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ । झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो ।’’
उहाँले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको जानकारी दिनुभयो । संस्थापक माण्डव्यले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताउनुभयो ।