इटहरी उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । विद्यार्थी बीच बढ्दै गएको असमानता मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय गरेको हो ।
नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन बिहीबार यस्तो निर्णय गरेको हो । ‘इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने, ’विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको छ।’ पौडेलका अनुसार अब इटहरीका विद्यालयमा टाइ देख्न पाइनेछैन ।
‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ पौडेलले भने, ‘निजी स्कुलहरुले पोशाक पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन्, त्यो रोक्ने हाम्रो अभियान पनि हो ।’ साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने समेत निर्णय भएको छ ।
निर्णय अनुसार स्कुलहरुले आफ्नो लोगो भने राख्न पाउनेछन् । निजी स्कुलहरुले आफैले मोजा र टार्य समेत बिक्र िगर्ने गरेको गुनासो आउन थालेपछि त्यस्ता कदमे रोक्न निर्णय गरिएको उपमहानगरको भनाई छ । विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत् एक पटक लिए पछि सो विद्यालयमा पढ्ने विद्यार्थीसँग सोही शीर्षकमा पटक पटक कक्षा चड्दा भर्ना शुल्क लिन नपाइने भएको हो ।
विद्यालय आफैँले किताब बेच्न नपाउने
विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय पनि गरेको छ । विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्रीवितरण गर्न रोक लगाएको हो । बैठकले उपमहानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन बैठकले यो निर्णय गरेको नगरप्रमुख पौडेलले बताए ।
इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरि कुल एक सय ७० वटा विद्यालय छन् । सबै विद्यालयमा गरी कुल ६३ हजार ५ सय २६ विद्यार्थी अध्ययनरत छन् ।