इटहरी । आईडीबी ग्लोबल इटहरीले पहिलो फिनिस शिक्षा मेला (युरोप शिक्षा मेला) आयोजना गर्ने भएको छ । मंसिर १७ गते सोमबार इटहरीको आइतबारेस्थित आईडीबी ग्लोबलको कार्यालय परिसरमा सो कार्यक्रम हुने भएको हो ।
सो कार्यक्रममा फिनल्यान्ड, डेनमार्क, स्वीडेन, जर्मनी, पोल्यान्डलगायत युरोपका उत्कृष्ट देशहरूमा उच्च शिक्षाका अवसरहरूबारे जानकारी दिने सञ्चालक तिलक पराजुलीले जानकारी दिए । फिनिस विश्वविद्यालयका प्रतिनिधिहरू र युरोपेली उद्योग विशेषज्ञहरूको प्रत्यक्ष उपस्थितिमा विद्यार्थीहरूले अध्ययन र क्यारियर सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्न सक्ने उनको भनाई छ ।
‘यस मेलाले निजी र सार्वजनिक विश्वविद्यालयहरूमा स्नातक र स्नातकोत्तर तहका अध्ययनका अवसरहरूबारे जानकारी प्रदान गर्नेछ,’ उनले भने, ‘युरोपमा अध्ययन गर्न चाहने विशेषगरी फिनल्यान्डमा रुचि राख्ने विद्यार्थीहरूले यो सुनौलो अवसर हुने छ ।’
कार्यक्रममा प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, युरोपेली विशेषज्ञहरूबाट पाठ्यक्रम चयन र क्यारियर योजना बनाउने सल्लाह दिने, आवेदन प्रक्रिया, छात्रवृत्ति र भिसा प्रक्रियाबारे विस्तृत जानकारी दिने पाठ्यक्रमहरू उपलब्ध गराइने उनले बताए ।