रामधुनी । सुनसरीको रामधुनी ८ डुम्राहास्थित सिद्धार्थ शिक्षा सदनले श्रष्टासँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विद्यालयले १८औं श्रृङखलाको रुपमा श्रष्टासँग बालबालिका सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । त्यसै गरी विद्यार्थीहरुले विज्ञान तथा प्रविधि प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, चित्रकला, हस्तलेखन प्रदर्शनी गरेका थिए । कार्यक्रममा थारु, मैथिली तथा नेवारी खाना समेत विद्यार्थीहरुले बनाएका थिए ।
हरेक श्रृङखलामा एक विशेष व्यक्तिलाई सम्मान गर्ने गरेको यस विद्यालयले यसपटक पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा हालका प्रशिक्षक भैरव चौधरीलाई सम्मान गरेको छ । त्यसैगरी विद्यालयले पूर्व विद्यार्थीद्वय रविन शर्मा र सुरज मण्डललाई समेत सिद्धार्थ नक्षत्रबाट सम्मान गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले यस विद्यालयले रामधुनी क्षेत्रमै उत्कृष्ट काम गर्दै आएको बताइन् । त्यसै गरी कार्यक्रमका विशेष व्यक्तित्व, श्रष्टाको रुपमा रहेका शिक्षा अनुसन्धान विज्ञ प्रा.डा. वेणुप्रसाद सिटौलाले पछिल्लो समय बालबालिकाहरुले मोबाइलमा समय विताइरहेकोले अभिभावकले ध्यान दिनुपर्ने बताए । अभिभावक पनि मोबाइलमा व्यस्त रहँदा बालबालिकालाइ समय दिन गाह्रो हुने र सो कारण बालबालिकाहरुमा समेत समस्या देखिने उनको भनाई थियो । त्यसैगरी विद्यालयका प्रिन्सिपल गोपाल निरौलाले सीप, संस्कार र प्रविधिसँग जोडेर आगामी दिनमा काम गर्ने बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा प्याबसन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल, प्याब्सन कोशी प्रदेश सदस्य उमेश थापा, रामधुनी अध्यक्ष अच्युत ढकाल, रामधुनी ८ का वडाध्यक्ष सुरेन्द्र सिंहलगायत रहेका थिए । बाक्लो संख्यामा अभिभावकको उपस्थिति रहेको सो कार्यक्रममा गायिका अञ्जु गौतमले गीतबाट मनोरञ्जन समेत प्रदान गरेकी थिइन् ।