इटहरी : सुनसरीका सञ्चारकर्मीहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् ।
असार १ र २ गते गरी इटहरी अस्पतालमा जिल्लाको इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवाका सञ्चारकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट तीन सय ६५ डोज उपलब्ध भएको खोपमध्ये असार १ र २ गते गरी दुई सय २३ जनाले खोप लगाएको महासंघ सुनसरीका सचिव धुव्र ढकालले जानकारी दिए ।
पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाका अनुसार असार १ र २ गते खोप लगाउने गरी तयारी गरिएअनुरुप भेरोसेल खोप लगाइएको हो । ‘बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म इटहरी अस्पतालमा खोप लगाइएको थियो,’ उनले भने ।
संचारकर्मीहरुलाई सूचना विभागको परिचयपत्र, पत्रकार महासंघको सदस्यता परिचयपत्र र सम्बन्धित संचारगृहको परिचयपत्रका आधारमा खोप लगाइएको थियो ।
इटहरी अस्पतालमा पत्रकारहरुसहित नेपाली सेना, जेष्ठ नागरिक लगायतलाई खोप लगाइएको अस्पतालका इन्चार्ज रामकुमार धमलाले बताए ।