सुनसरी । हेल्पिङ ह्यान्ड जापान टीम(एचएचजेटी)ले नेपालमा सहयोग हस्तान्तरण अभियान सञ्चालन गरेको छ । सुनसरी, मोरङ, झापाका विभिन्न स्थानका गरिब, दुखी तथा असाहय व्यक्ति तथा परिवारका लागि एचएचजेटीले सहयोग प्रदान गर्ने गरि अभियान सञ्चालन गरेको हो ।
सुनसरीका सागर लामिछाने र सुरेश काफ्लेले सम्बन्धित ठाउँमा पुगी सहयोग हस्तान्तरण गरिरहेका छन् । सामाजिक सञ्जालमा आएको भिडियो, साथीभाईबाट प्राप्त सल्लाह अनुसार लामिछाने र काफ्लेले सम्बन्धित ठाउँमै पुगेर वास्तविकता बुझेर सहयोग प्रदान गरिरहेका हुन् । सम्बन्धित ठाउँमा गएर सहयोग गर्ने र एचएचजेटीबीच सुदीप लम्सालले समन्वय गरिरहेका छन् ।
हालसम्म सुनसरीका ३, झापाका ३ र मोरङका ७ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको लामिछानेले जानकारी दिए । उनका अनुसार गरिब, क्यान्सर पीडित, अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्नुका साथै केही परिवारलाई राहत वितरण गरिएको छ ।
एचएचजेटी स्थापना भएको ४ महिना भएको छ । गरिब, दुखी तथा असाहय व्यक्ति तथा परिवारका सहयोगका लागि यो संस्थाले अझ धेरै काम गर्न बाँकी रहेको लामिछानेले बताए ।