बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले आफ्नो वडामा भएको अति विपन्न ४ सय घरपरिवारलाई राहत सामाग्री घरमै पुगेर हस्तान्तरण गरेको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनमा आर्थिक स्थिती कमजोर हुने र दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्नेलाई गाह्रो हुने भएकाले सो राहत वितरण गरिएको वडाध्यक्ष आशराम चौधरीले बताए ।
बिवरण संकलन गरि वडाले बिपत व्यवस्थापन शीर्षकमा छुट्याएको १ लाख ५० हजार रुपैयाँ बजेट र अन्य बजेट गरी करिब २ लाख बराबरको खाद्यान्न खरिद गरि बितरण गरेको चौधरीले बताए ।
लकडाउनको समयमा थोरै भएपनि राहत पुग्ने विश्वासका साथ ४ सय घरपरिवारमा ८ केजि चामल, १ केजी नुन र १ पोका तेलको दरले ४ परिवारलाई बितरण गरिएको अध्यक्ष चौधरीले बताए ।
‘यो राहत वडा कार्यालयको तर्फबाट वितरण गरिएको हो,’ उनले भने, ‘अबको केहि दिनमा बराहक्षेत्र नगरपालिकाले पनि राहत बितरण गर्नेछ ।’
उक्त राहत वितरण कार्यक्रममा भरौल प्रहरी चौकी प्रतिनिधि, समाजसेवि, बुद्धिजीवी, जनप्रतिनिधिलगायत सर्वदलीय समितीको उपस्थिति थियो ।