रामधुनी । झुम्का उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
आगामी चैत्र १९ गते आइतबार हुने भनिएको निर्वाचन तत्काल नगर्न बिहीबार आदेश दिएको हो । झुम्काका व्यवसायी केदार श्रेष्ठले उवासंघ झुम्कामा गैरव्यावसायीहरूलाई समेत सदस्यत तथा नवीकरण गराई मतदाताका रूपमा प्रयोग गरिएको भन्दै उच्च आदालत विराटनगरमा निवेदन दिएका थिए । न्यायधीश किरणकुमारी गुप्ताको एकल इजलासले तत्कालका लागि निर्वाचन नगर्न आदेश दिएको हो ।
‘दुवै पक्षलाई राखि हुने छलफलबाट निष्कर्षमा पुगिने उपयुक्त हुने हुँदा देखिदाँ सो प्रयोजनका निमित्त २०७९।१२।१९ को पेशी तोकिई आइतबार हुन लागेको निर्वाचन नगरी यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी दिएको छ’ आदेशमा भनिएको छ ।
रामधुनी नगरभित्र व्यवसाय सञ्चालन गर्ने मात्र मतदाता हुने भनिएपनि इटहरी क्षेत्रमा व्यवसाय गर्नेहरुलाई पनि मतदाता बनाइएको भन्दै बिरोध भएको थियो । अध्यक्षमा ५ जनाको उमेद्वारी रहेको समे निर्वाचनका लागि केही समुह भने निर्वाचनको प्रचारप्रसारलाई तीब्रता दिइरहेका छन् भने केही समुह छानबिन गरी अन्तिम मतदाता प्रकाशन नभए बहिस्कार गर्ने भन्दै बिरोध गरिरहेको छन् । एक अध्यक्षबाहेक ४ अध्यक्षको प्यानलै निर्वाचनमा होमिएको छ ।
अध्यक्ष पदका लागि भरत कार्की, नवीन चौधरी, दुर्गा फुयाँल, भोला रौनियार र सन्दीप गौतमले उम्मेदवारी दिएका छन् ।