सुनसरी । बराहक्षेत्र ५ कालाबन्जरमा रहेको विनायक कृषि सहकारी संस्थाले आगलागीबाट पीडित दुईजनालाई राहत प्रदान गरेको छ । मंगलबार राति करिब ९ बजे लागेको आगलागीबाट स्थानीय देबबहादुर कार्की र गोबिन्द बिष्टको होटेल र होलसेल किराना पसल जलेर नष्ट भएको थियो ।
ज.डे.ज स्कुलले पासाङ चौकहुँदै तिनकुने जाने बाटोमा व्यवसाय गर्न बनाएको सटरहरुमा आगो लागेको हो । आगलागीबाट क्षति ब्यहोरेका कार्की र विष्टलाई सहकारीले राहत प्रदान गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष, सदस्य, सेयर सदस्य लगायतको उपस्थितिमा आगो लागेको ठाउँमा गइ संस्थाका संस्थापक सदस्य समेत रहेका पीडित कार्कीलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो । त्यस्तै सहकारीले साधारण सदस्य समेत रहेका अर्का पीडित विष्टलाई १५ हजार रुपैयाँ सहयोग गरेको व्यवस्थापक अर्जुन भट्टराईले बताए ।

यस विनायक कृषि सहकारीले आफ्नो सदस्यहरुलाई यस्तो सहयोग गर्दै आइरहेको अध्यक्ष अर्जुन कोइरालाले बताए । ‘हामी संस्थापकहरुले संस्थाको नाममा यो आर्थिक सहयोग गरेका हौं’ उनले भने, ‘तपाईहरुले बचत गरेको पैसाबाट हामीले सहयोग गरेको होइन ।’








