सुनसरी । हरिनगर गाउँपालिका १ भुटाहाको मल्लहा टोलबाट प्रहरीले पाँच हजार लिटर अवैध मदिरा नस्ट गरेको छ ।
भुटाहा प्रहरी चौकीले संकलन गरेको पाँच हजार लिटर अवैध घरेलु मदिरा तथा एक हजार मदिरा बनाउने भडा समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इनरुवालाई बुझाएको हो ।
भुटाहाको मल्लहा टोलमा अवैध रुपमा उत्पादन भइरहेको ठूलो परिमाणको घरेलु मदिरा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । झण्डै पाँच हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालय पठाएको स्थानीय तथा १ नम्बर वडा सदस्य रिनोद बहरदार जानकारी दिए ।
्संकलन गरिएको मदिरा शुक्रबार नै नष्ट गर्ने जिल्ला प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले घरेलु मदिरा तथा गाँजा नियन्त्रणमा लिएर नष्ट गर्ने योजना रहेको समेत पोखरेलले जानकारी दिए । उनका अनुसार चाँडपर्वको समयमा सुनसरीमा सबैभन्दा बढी घरेलु मदिरा खपत हुने गरेको छ ।
प्रहरीले विगतका वर्षमा चाँडपर्वको समयमा ठूलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ । यसैगरी प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको दुई दर्जन घरमा लुकाई राखेको अवस्थामा एक हजार ड्रम भन्दा बढी कच्चा पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरिसकेको पोखरेलले जानकारी दिए ।