मोरङ । पथरीशनिश्चरे नगरपालिका ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले अतिथिलाई लगाउने खादा र ब्याच किन्ने रकम जोगाएर खाद्यान्न वितरण गरेको छ । आफ्नो २५ औं स्थापना दिवसको अवसरमा गरेको साताव्यापी कार्यक्रममा खादा र ब्याचमा हुने खर्च जोगाएर ६ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रममा अतिथिलाई अन्यत्र चलन रहेको खादा, ब्याज लगाएतको स्वागत सम्मानका सामाग्री खरिद गर्ने रकमले निम्न वर्गका परवारलाई खाद्यान्न वितरण गरेको क्लबका अध्यक्ष नवीन कार्कीले बताए । ६ परिवारलाई चामल तथा तेल वितरण गरेको उनले बताए ।
‘सासाना खर्च जोगाउने हो भने, कुनै परिवारलाई सहयोग गर्न पुग्छ,’ उनले भने, ‘हामीले खादा र ब्याचमा गर्ने खर्च जोगाएर निम्नवर्गका परिवारलाइ सहयोग गरी नयाँ परम्परा सुरु गरेका हौँ ।’
सामाग्री पाउने सबै पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ निवासी छन् । जस अन्तरगत मंगलबारे निवासी एक सय वर्षीय शन्तमाया रुम्बा, सोमबारे निवासी अपांगता भएका राजन भुजेल, मिलन चोक निवासी महाप्रसाद पोख्रेल, सोमबारे (माझी टोल) निवासी पहाडे माझी, सोमबारे निवासी वीर बहादुर भुजेल र राइडाँडा निवासी मङ्सिरी राई रहेका छन् ।
क्लबले आफ्नो २४ औं वार्षिकोत्सवमा पनि निम्नवर्गका परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको थियो । क्लबले गत मंसिर ६ देखि ‘रजत जयन्ती’ अन्तर्गत साताव्यापी कार्यक्रम गरेको थियो । कुनै पनि खादा तथा ब्याच बिना सबै कार्यक्रम आयोजना गरिएको थियो ।