बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका ५ कालाबन्जारमा रहेको जगन्नाथ डेडराज जनता माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई मन्दिर निर्माण गरिदिएका छन् ।
क, ख चिनेको र आफूहरुले अध्ययन गरेकोले विद्यालयका लागि केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले सरस्वतीको मन्दिर बनाइदिएको निर्माण समितिका सचिव दुर्गा बस्नेतले बताए । ‘आफू पढेको विद्यालयमा केही सहयोग गरौं भन्ने मनसाय हामीमा आयो,’ उनले भने, ‘र हामीले केही साथीसँग र विद्यालयका प्रधानाध्यापक हिरामणी पौडेलसँग गरेको सरसल्लाह अनुरुप मन्दिर निर्माण गरेका हौं ।’
मन्दिर आवश्यकता रहेको देखेपछि सम्पर्कमा आएका ४८ जना पूर्वविद्यार्थीहरुको आर्थिक सहयोगमा करिब ८ लाख बराबरको मन्दिर निर्माण गरेको बस्नेतले बताए ।
उक्त सरस्वतीको मन्दिर निर्माण मा खड्गबहादुर बस्नेतले १ लाख १८, महेश कार्कीले १ लाख १३ हजार, बिबेक भट्टराईले ९३ हजार, यज्ञराज भट्टराई (उमेश)ले २५ हजार, रिमिराज ढकालले २५ हजार, सन्तोष बस्नेतले २५ हजार र गोपाल तिम्सिनाले २५ हजार सहयोग गरेको र अन्य पूर्वविद्यार्थीले पनि ५ हजार रुपैयाँभन्दा बढी सहयोग गरेको उनको भनाइ छ ।
स्वेद तथा विभिन्न देशमा रहेको विद्यालयका पूर्वविद्यार्थीहरुले स्कुलको ६०औं स्थापना दिवसको अवसरमा उक्त मन्दिरमा हस्तान्तरण गरेको निर्माण संयोजक खड्गबहादुर बस्नेत बताए ।
यसैगरी २०५७ सालको एसएलसी समुहले विद्यालयका लागि विद्यार्थीहरुले आइरन आउने पानी खानुपर्ने बाध्यता हटाएका छन् । विद्यालयमा अहिलेका विद्यार्थीहरुले शुद्ध खानेपानी पिउनका लागि धारा जडान गरेको भेषराज कार्कीले बताए । करिब ३ लाख ५० हजार लगतमा उक्त धार जडान गरेको समेत बताए ।
विद्यालयलाई यति ठूलो सहयोग गरेको भन्दै विद्यार्थीहरुलाई प्रअ पौडेलले सम्मान समेत गरे । उनले विद्यार्थीहरुले गरेको सहयोगको खुलेर प्रशंसा समेत गरे ।