बराहक्षेत्र । बराहक्षेत्र नगर क्षेत्रभित्रका पत्रकारहरुको हकहितका लागि स्थापना भएको ग्रामिण पत्रकार समुहको अध्यक्षमा हिरण्य कार्की सर्वसम्मतले चयन भएका छन् ।
शनिबार भएको प्रथम साधारण सभामा कार्कीको अध्यक्षतामा समिति पुर्नगठन गरिएको हो । ७ सदस्यीय समितिको कार्यकाल २ वर्षको रहने छ ।
समितिको उपाध्यक्षमा ब्लास्ट टाइम्स र कृति टेलिभिजनमा कार्यरत सन्तोष गुप्ता चयन भएका छन् । त्यसैगरी मर्निङ टाइम्स दैनिकमा आवद्ध संगम बिष्ट सचिव, गण्डकी अनलाइन र जाँतेढुंगा अनलाइनमा आवद्ध सविन विश्वकर्मा सहसचिव, सुनसरी सामुदायिक एफएममा आवद्ध विष्णुमाया पराजुली कोषाध्यक्षमा चयन भएका छन् ।
मर्निङ टाइम्स दैनिक र खबरबिट डटकममा आवद्ध दीपक पुरी र सुनसरी सामुदायिक एफएममा आवद्ध गंगा भट्टराई भने सदस्यमा चयन भएका छन् ।
पत्रकारहरुको क्षमता अभिबृद्धि, सचेतना कार्यक्रम, ग्रामिण पत्रकारहरुको उत्पादनमा ध्यान दिने अध्यक्ष कार्कीले प्रतिबद्धता गरेका छन् । कोशी सम्मानका प्रकाशक तथा सम्पादक रहेका कार्की बराहक्षेत्रको चक्रघट्टीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।
निवर्तमान अध्यक्ष बाबुराम कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकार उत्पादनका लागि आधारभुत पत्रकारिता तालिम, फिचर लेखन तालिम, रेडियो पत्रकारिता तथा उद्घोषण तालिम लगायत सचेतनाका कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । कार्कीले ४ लाख २४ हजार २ सय रुपैयाँको कारोवार गरेकोे लेखा प्रतिवेदन मार्फत जानकारी दिए ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष विरबहादुर लिम्बुले पत्रकारहरुप्रति गुनासो गरेका छन् । बराहक्षेत्र अन्तर्गतका पत्रकारहरुले सत्यतथ्य नबुझि सुनेको भरमा सामाचार लेख्ने गरेको भन्दै गुनासो गरेका हुन् । सुनेको भरमा स्थलगत अनुगमन नगरी लेखेको सामाचारले बिकासमा प्रभावित पार्न सक्ने भएकाले पत्रकारहरुले सत्य तथ्यमा ध्यान दिन आवश्यक रहेको वडाअध्यक्ष लिम्बुले बताए ।
कार्यक्रममा बराहक्षेत्रका सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।