सुनसरी । बिहीबार बराहक्षेत्र ३ राजधामी चौकमा टिपरले किच्दा घाइते भएका बालकको मृत्यु भएको छ । को १ ५७६५ नम्बरको टिपरले किचेर घाइते बनेका ४ वर्षीय बालक सुगम राजधामीको उपचार गर्न काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिसफुल इङलिस स्कुलमा नर्सरीमा अध्ययनरत बालक बिहीबार साँझ आमा मञ्जु राजधामीसँग राजधामी चोकमा बजार भर्न आएका थिए । टिपरले किच्दा बालकको दुबै खुट्टामा गम्भीर चोट लागेको थियो ।
उपचारका लागि धरानस्थित बिपि हस्पिटल पठाए पनि थप उपचार गर्न काठमाडौं लैजाँदै गर्दा लाहान पुग्ने क्रममा राति करिब ११ बजे मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
छोराको मृत्युपछि बेहोस बनेकी आमा मञ्जलाई उपचारको लागि धरानस्थित बिपी प्रतिष्ठानमा भर्ना गरिएको छ । मृतक बालकका बुवा सुजित राजधामी वैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत छन् । उनी नेपाल आउने भएपछि बालकको शवलाई धरानस्थित बिपी प्रतिष्ठानमा राखिएको छ ।
टिपर चालक बराहक्षेत्र ५ केचुवाइ बस्ने ३७ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय चक्रघटीले नियन्त्रणमा लिएको इलाका प्रमुख शरण दाहालले बताए ।