सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का विपन्न ५० परिवारलाई घरमै पुगेर बिहीबार राहत सामाग्री वितरण गरिएको छ ।
३ नम्बर वडाका जनप्रतिनिधि, वडा नम्बर ३ नेकपा कमिटी प्रतिनिधि, नेपाली कांग्रेसका तीलकबहादुर कार्की, भरौल प्रहरी चौकिका प्रमुख बिनोद दाहाल लगायतको उपस्थितिमा सो परिवारको घरमै गएर राहत वितरण गरेको वडा अध्यक्ष रुद्र दाहालले बताए ।
अहिले देशमा लकडाउन रहेको र यस समयमा वडाका अति विपन्न परिवारहरुलाई खानपिनमा समस्या हुने भन्दै राहतस्वरुप प्रति परिवार २५ केजी चामल, २ केजी भुजा, ३ केजी चिउरा, १ केजी नुन, १ लिटर खानेतेल, तरकारी, मस्यौरा, साबुनलगायतका खाद्यान्न तथा घरायसी वस्तु वितरण गरिएको दाहालले बताए ।
बराहक्षेत्र ३ मा रहेका नेकपा पाटीका नगर सदस्य, वडा सदस्य र जनप्रतिनिधि लगायतसँग आर्थिक संकलन गरि नेकपा वडा नम्बर ३ कमिटीले १ लाख २१ हजार ५ सय रुपैयाँ बुधबार वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
स्थानीय सरकार मार्फत एकद्धार प्रणालीबाट बिहीबार ५० घर परिवारलाई घरमै लगेर खाद्यान्न वितरण गरिएको वडा नम्बर ३ नेकपा कमिटीका अध्यक्ष मोहन सुबेदीले बताए ।
बराहक्षेत्र नगरपालिकामा पहिलो पटक वडा नम्बर ३ मा नेकपा वडा कमिटीले अर्थिक संकलन गरि वडा लाई बुझाएको थियो ।