सांसद भीम आचार्यले ग्रामथान नेपालको राष्ट्रिय सम्पति भएको बताएका छन् । सोमबार बराहक्षेत्र नगरपालिका ५ स्थित नयाँ टोलको ग्रामथान शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
उद्योग, पर्यटन वन तथा वातावरण पूर्वमन्त्री तथा सुनसरी प्रदेश १ ख सभासद रहेका आचार्यले विकाशित देशहरुले देश विकासको क्रममा आफ्नो पुरातत्विक सांस्कृतिक ठाउँहरु मासेको र अहिले आएर खोज अनुसन्धानमा लागि परेको बताए ।
‘नेपालका कुनै पनि संग्राहलय, मठमन्दिर, देवलय ग्रामथानहरु सबै नेपाल राष्ट्रियको सम्पति हो’ उनले भने, ‘यसलाई जोगाउनु तथा संरक्षण गर्नु हाम्रो दायित्व हो ।’
उनले ग्रामथान निर्माणका लागि केही बजेट समेत ब्यवस्था गरेको जानकारी गराए । वार्ड नम्बर ५ को वडा कार्यलयको पहलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विकास कोषबाट केही रकम आउने भएपछि शिलान्यास गरेको ग्रामाथान निर्माण समितीका अध्यक्ष अधिकलाल चौधरिले बताए ।
करिब १५ देखि १७ लाख रुपैयाँको लागतमा ग्रामथान निर्माण गर्न लागेको चौधरीको भनाइ छ । ‘हामी भोलिबाटै स्थानीय टोलवासीको श्रम सहयोगमा काम थाल्ने छौं’ उनले भने, ‘शिलान्यासका लागि पहल गर्ने सबैलाई धन्यावाद दिँदै टोलबासीलाई निर्माण कार्यमा जुट्न अनुरोध पनि गर्दछु ।’
शिलान्यास कार्यक्रममा बराहक्षेत्रका नगर प्रमुख निलम खनाल, वडा ४ का वडाध्यक्ष आसाराम चौधरी, सुनसरी जिल्लाका स्थायी कमिटी सदस्य नन्दु बस्नेत लगायत वडा नम्बर ५ का बुद्धिजीवी, समाजसेवीको उपस्थिति रहेको थियो । आगामी असार १५ सम्म्मा ग्रामथान निर्माण गरिसक्ने अध्यक्ष चौधरीले बताए ।