रामधुनी । रामधुनीको झुम्का बजार बिहीबारदेखि दैनिकरुपमा केही समय खुला हुने भएको छ । बिहीबारबाट बिहान ६ देखि १० बजेसम्म खुला रहने झुम्का उद्योग वाणिज्य संघले जनाएको छ ।
वणिज्य संघले बुधबार एक सूचना प्रकाशित गर्दै बिहीबारदेखि दैनिक बिहान ४ घण्टा बजार खुला रहने जनाएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाममा सरकारले पटकपटक लकडाउन लगाउँदै आएको छ । यस्तो लकडाउनको समयमा रामधुनीका उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै दैनिक केही घण्टाको दरले बजार खुला गर्ने निर्णय गरेको संघका अध्यक्ष धर्मेन्द्र साहले बताए ।
सामाजिक दुरी कायम गरी, पसल अगाडि हात धुने व्यवस्था मिलाउने र मास्क तथा सेनिटाइजर प्रयोगलाई जोड दिँदै सो समयावधिमा पसल खोल्न सकिने संघका महासचिव नवीन चौधरीले जानकारी दिए । बुधबार स्थानीय तथा जिल्ला प्रशासनसँगको छलफल पछि बजार खुला गर्ने निर्णय भएको चौधरीले बताए ।
संघले जारी गरेको सूचना अनुसार अत्यधिक भिडभाड हुने शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस, धार्मिक स्थल, खेलकुद स्थल, फुटसल, होटल तथा रेष्टुरन्ट सबै बन्द हुनेछ ।
त्यसैगरी स्थानीय प्रशासनबाट पास पाएका बाहेक सबैप्रकारका सवारी साधन चल्न नपाउने साहले बताए ।
यस अघि इटहरीले पनि बिहान केही समय बजार खुला गर्ने सूचना सार्वजनिक गरेको थियो ।