रामधुनी । बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
श्रावण ९ गते धरानबाट इटहरी आइरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका ८ का ५७ वर्षीय डम्बरप्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६ सय रुपैयाँ चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका ३ का ३६ वर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका ८ का ३२ वर्षीय सुजन तामाङ भन्ने सन हादुर लामा तामाङ र तिमाल गाउँपालिका २ का २६ वर्षीय कमल लामा रहेका छन् ।
यो समुहले इटहरीको ट्ङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमबार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार नौं सय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेको यो समुह चोरी गर्नकै लागि काठमाडौंबाट श्रावण ८ गते पूर्वी नेपाल आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।