रामधुनी । संविधान दिवसको अवसरमा रामधुनी ४ मानपुरका युवाहरुले विभिन्न कार्यक्रम गरेका छन् ।
उनीहरुले संविधानको सम्मान गर्दै नेपालको नक्सा बनाएर दिप प्रज्वलन, सहिदहरुको सम्झानामा मौन धारण र जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमसहित नेपालको झण्डा फहराएका छन् ।
संविधानले सबैलाई समेट्न सकोस् र सबै नागरिकहरुको हकको सुनिश्चितता होस् भन्ने उत्साहका साथ शनिबार संविधान दिवस मनाइएको हो । ज्येष्ठ नागरिकहरु देशको ज्यूँदो इतिहास भएको र देश यहाँसम्म आइपुग्नुमा ज्येष्ठ नागरिकहरुको महत्वपूर्ण भूमिका रहेको हुनाले उनीहरुको सम्मान गरिएको स्वतन्त्र युवाहरुको भनाइ छ ।
रामधुनी ४ मानपुर बैठारमा सम्पन्न भएको कार्यक्रममा वडा ४ का वडाध्यक्ष मनेष चाधरीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा अथितिका रुपमा वडा सदस्य कमल कार्की, लालपुर प्रहरी चौकीका प्रमुख मेघकुमार कार्की, समाजसेवी तथा राष्ट्रिय कराते संघका प्रशिक्षक हरीबहादुर राउत र वन समिती वडा नं.४ का अध्यक्ष रामशेवक साह रहेका थिए ।
त्यस्तै कार्यक्रममा युवा मनोज खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन रमेश खड्काले गरेका थिए ।
०७२ साल असोज ३ गते संविधानसभा मार्फत संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ ।








