सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा टिपरको ठक्करले किशोरीको मृत्यु भएपछि त्यहाँको स्थिति तानवपूर्ण बनेको छ ।
रुपहनी–१ घर भएकी १२ वर्षीया रिताकुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको टिपरले ठक्करबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीयले राजमार्गमा अवरुद्ध पारेका हुन् । उनीहरुले चक्काजाम नै गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
आक्रोशित भीडलाई तितरबितर पार्न र नियन्त्रणमा लिन प्रहरीले रबरको गोली समेत चलाउनुपरेको सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । आफन्तहरूले किशोरीको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा सदरमुकाम राजविराजबाट व्यापक रुपमा सुरक्षाकर्मी खटाइएको छ । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेको प्रहरीले जनाएको छ ।
सोही अवरोधकै कारण पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड अवरुद्ध भएका छन् ।