मोरङको सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ वर्षीय देव चौधरीको घरबाट दुई र गाजाँ ल्याइदिने दुई गरी चार जनालाई पक्राउ गरेको हो ।
चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चौधरीसहित ३८ वर्षीय दुर्गा प्रसाद फुयालको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबैलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पछि सोधपुछको क्रममा प्र-१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाइकल मार्फत बिक्रीको लागि ल्याइदिने गरेको भनि अनुसन्धानको क्रममा खुलेको थियो । खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक केरावारी ४ का ३१ वर्षीय सुविन राई र पछाडी सवार केरावारी ५ का १९ वर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।