इटहरी । नेपालस्थित अमेरिकी दूतावासले डिजिटल सामग्री निर्माताहरू (क्रिएटर्स)को प्रत्यक्ष सम्मेलन ‘क्रिएटर्स मेला’ इटहरीमा आयोजना गर्ने भएको छ । ‘बिलल्ड, ब्रान्ड, बुस्ट’ मूख्य विषयवस्तु रहने मेला चैत २२ गते शनिबार इटहरी स्थित सोल्टी वेस्टन्डमा हुने भएको हो ।
काठमाडौँमा यसअघि नै दुई पटक आयोजना भइसकेको क्रिएटर्स मेलालाई राष्ट्रव्यापी रूपमा गर्न लागेको आयोजकले जनाएको छ । राजधानीबाहिरका उदयमान डिजिटल सामग्री निर्माताहरूलाई महत्त्वपूर्ण स्रोतसाधन र अवसरहरू उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गर्न लागेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।
विज्ञप्तीमा उल्लेख भएअनुसार मेलाले स्थानीय प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर), उद्यमी र डिजिटल सामग्री निर्माताहरूलाई कार्यशाला, अन्तरक्रियात्मक प्यानल छलफल र उच्च प्रभावकारी सम्पर्क विस्तारका निम्ति एकत्रित गर्नेछ । साथै मेलाका सहभागीहरूले रचनाप्रतिको लगावलाई दिगो पेसाकर्ममा परिणत गर्न मद्दत गर्ने व्यवहारिक सीप, परामर्श र एआईद्वारा सिर्जित अन्तर्दृष्टिहरू हासिल गर्नेछन् ।
‘कार्यक्रमको उद्देश्य डिजिटल सामग्री निर्माताहरूलाई सशक्त बनाउँदै उनीहरूलाई अघि बढ्न, सम्पर्क बढाउन र सफलताका लागि आवश्यक साधनहरूको विकास गर्न मद्दत गर्नु हो,’ अमेरिकी राजदूत डिन आर थम्पसनले भने, ‘क्रिएटर्स मेला व्यक्तिका लागि मात्र नभई समुदायहरूकै लागि ढोका खोल्ने र अवसरहरूको सृजना गर्ने डिजिटल मिडियाको शक्तिमा हामी विश्वास गर्छौँ ।”
व्यावसायिक अगुवा, विश्वव्यापी मञ्च र ब्रान्ड साझेदारहरूसम्म पहुँच पाउन मद्दत गरी क्रिएटर्स मेलाले उद्यमशीलता र रोजगारी सृजनालाई बढवा दिने बताइएको छ ।
सो मेलाको अर्को संस्करण ३० चैत्रमा पोखरामा समेत हुँदैछ ।