सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाँऊपालिका–८ स्थित दशगंजा क्षेत्रबाट सशस्त्र प्रहरीले मंगलबार एक सय दुई केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
नेपालबाट भारतमा गाँजा तस्करी भइरहेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरी बल उल्टी बिओपीका प्रमुख महेश केसीको नेतृत्वको टोलीले बिहानैबाट सो क्षेत्रमा कडाइ गरेको थियो । प्रहरीले कडाइ गरेपछि सो क्षेत्रबाट मंगलबारएक सय दुई केजी गाँजा बरामद गरेको हो ।
मकैबारीमा लुकाएर राखेको अवस्थामा ५ बोरामा एक सय दुई केजी गाँजा बरामद गरिएको उल्टी विओपीको सशस्त्र प्रहरी निरीक्षक केसीले बताए । मकै बारीमा राखिएको ७ बोरा गाँजा मध्ये २ बोरा गाँजा भारततर्फ लगिएको अनुमान गरिएको छ ।
बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पूरा गरि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल उल्टी विओपीका सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
सो सिमानाकाबाट विगत लामो समयदेखि गाँजा तस्करी भइरहेको स्थानीयवासीहरुले गुनासो गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक केसीले गुनासो आएपछि सो क्षेत्रमा कडाई गर्नुको साथै तस्करी नियन्त्रणमा लागेकोले ठूलो परिमाणको गाँजा बरामद गरेको बताए ।