रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ७ वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडाध्यक्ष केशव गौतमले निर्माण गरिएको नयाँ भवनबाट कार्यालय संचालन गरिएको जानकारी दिए ।
सात जनाले संयुक्त रूपमा प्रदान गरेको तीन कठ्ठा जग्गामा कार्यालय भवन निर्माण गरिएको हो । मोहन खत्री, रोहित सुब्बा, भुपराज बस्नेत, जगत बहादुर बन, पुर्ण बहादुर मगर, जीवन थापा, अंक बहादुर बस्नेतले जग्गा दिएका थिए । जग्गाको मूल्य ६० लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
वडा कार्यालय भवन निर्माणका लागि तीन किस्तामा क्रमशः १६, ३३, २० लाख रुपैयाँमा ठेक्कामा काम भएको बवडा कार्यालयले जनाएको छ । अन्तिममा उपभोक्ता समितिले निर्माण कार्य सम्पन्न गरेको हो । वडा कार्यालयको भवन, हल, शौचालय निर्माण गरिएको छ । खानेपानीका लागि ट्युबवेल समेत जडान गरिएको अध्यक्ष गौतमले बताए ।
साविक बक्लौरी गाबिस रामधुनी नपामा समायोजन भएपछि नगरको वडा नम्बर ६ र ७ बनेको हो । नगरको वडा नम्बर ६ को कार्यालय साबिक गाबिसकै भवनबाट संचालनमा रहेको छ भने वडा नम्बर ७ कार्यालय भवन बिहिन रहेका थिए । यस अघि भाडाको घरबाट रामधुनी ७ वडा कार्यालय संचालनमा रहेको थियो ।