सुनसरी । धरानमा भदौ ४ गते (शुक्रबार)देखि हुने भनिएको कडा लकडाउन फिर्ता भएको छ ।
व्यापारी, व्यवसायी तथा मजदुर वर्गहरुको विरोधपछि धरान उपमहानगरपालिकाले बिहीबार कडा लकडाउन फिर्ता लिएको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा बिहीबार (आज) भएको सर्वपक्षीय छलफलसँगै कडा लकडाउन फिर्ता गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
महाशाखा प्रमुख मेहताका अनुसार अब एकहप्ता भित्र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिने र अहिले भईरहेको निषेधाज्ञालाई निरन्तरता दिइने छ । उपमहानगरपालिकाले लकडाउनको निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रसासन कार्यालयलाई अनुरोध गर्ने भएको छ ।
राजनीतिक दलहरुको अनुरोधमा धरान उपमहानगरपालिकाले कडा लकडाउन गर्ने निर्णय गरेको थियो ।