रामधुनी । सुनसरीको रामधुनी १ स्थित रहेको माउन्ट समिट वर्ल्ड स्कुलका विद्यार्थीले वृद्धाआश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।
गत शुक्रबार कक्षा ८, ९ र १० का विद्यार्थीहरुले इटहरी १६ मा रहेको रामजानकी शान्ति वृद्धाआश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका हुन् । विद्यार्थीहरुले दैनिक खाजा खाने पैसा बचाएर वृद्धाश्रममा रहेको सुस्वास्थ्य कोषमा ६ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
सो रकम स्कुलका प्रिन्सिपल भोजविक्रम कार्कीले संस्थाकी सचिव रेणु ओझालाई हस्तान्तरण गरेका थिए । आर्थिक सहयोगसँगै विद्यार्थीहरुले दहीचिउरा तथा मिठाइ लगाएतका खाद्यान्न पनि सहयोग गरेका थिए ।
विद्यार्थीहरुलाई समाजसँग जोड्न र सामाजिक क्षेत्रमा समेत विद्यार्थीहरुको सहयोग महत्वपूर्ण हुने भएकाले कार्यक्रम गरिएको प्रिन्सिपल कार्कीले जानकारी दिए । सामाजिक कार्य के हाे र समाजमा कसरी सहयाेग गर्दै हातेमालाे गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएकाे उनले बताए ।
माउन्ट समिटले प्रत्येक हप्ता अतिरिक्त शैक्षिक तथा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।
सो वृदाआश्रममा हाल ११ जना वृद्धाहरू बस्दै आएका छन् ।