आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादबलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरुलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्नुका साथै कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको र कर्सियाको बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरुको समूह आई बैंकको गार्डलाई गोली प्रहार गरी नगद समेत लुटी फरार भएका ३ जना अभियुक्तलाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका थिए ।
उनले सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले सहायक निरीक्षक बिष्ट र हवलदार यादबलाई पुरस्कृत गरेको हो ।
वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरिन्छ ।
उक्त पुरस्कार साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले प्रशंसा–पत्र सहित १ लाख रुपैंया धनरासीको चेक प्रदान गर्दै सोमबार पुरस्कृत गरेका हुन् ।
प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यबाद दिएका छन् । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिएका छन् ।
पुरस्कृत हुने प्रहरी द्वयले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।
स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनु भएको छ ।
साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथी माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।







