रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ८ मा पशु बीमा कार्यक्रम सुरु भएको छ ।
आइतबार वडा कार्यालयले एक कार्यक्रम गरी बीमा कार्यक्रम सुरु भएको घोषणा गरेको हो । नेपाल सरकाले पशु बीमाको कार्यक्रमहरु ल्याएपनि सो अनुसार अगाडि बढ्न नसकिरहेको उदाहरण दिँदै रामधुनी ८ का वडाध्यक्ष रुद्रबहादुर बस्नेतले नगरपालिकाले नगरसभाबाट नीति तथा कार्यक्रम भित्र पशु बीमाको कार्यक्रम र बजेट छुट्याएकाले सो कार्यक्रमलाई सुरु गरिएको बताए ।
पशु बीमाबापत् ७५ प्रतिशत नेपाल सरकार र बाँकी २५ प्रतिशत रकम किसानले व्यहोर्नुपर्ने भएपनि बीमा कार्यक्रममा छुट्याइएको बजेटबाट १२.५ प्रतिशत वडा कार्यालयले व्यहोर्ने बस्नेतले बताए । उनका अनुसार बाँकी १२.५ प्रतिशत किसानले व्यहोर्नुपर्नेछ ।
रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले पशुको बीमा कार्यक्रमले पशुपालक कृषकलाई लाभ हुने बताए । चौधरीले रामधुनीमा पशु सेवा प्रदान गरेको हुदाँ फाइदा लिन सबै कृषकहरुलाई आग्रह समेत गरेका छन् ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशालय १ नम्बर प्रदेशका निर्देशक लेखराज दाहालले पशुपालन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए । दाहालले रामधुनी नगरपालिकामा पशु बीमा कार्यक्रम सुरु भएको हुदाँ सबै पशु किसानलाई बीमा गर्न अनुरोध गर्दै बीमा कार्यक्रम उदाहरणीय कामको सुरुवात भएको कार्यलाई प्रशंसा समेत गरेका थिए ।