सुनसरी । बराहक्षेत्र २ चतरामा जारी चौथो टुबोर्ग बराह गोल्डकप फुटबल प्रतियोगिताको मंगलबारको खेलमा एभरेष्ट फुटबल क्लब विजयी भएको छ । ए.पि.एफं काठमाडौंलाई ४-२ गोल अन्तरले हराउँदै एभरेष्ट विजयी भएको हो । मंगलबारको खेलमा विजय भएसँगै एभरेष्टले सेमिफाइनलको यात्रा तय गरेको छ ।
खेलको ९औं मिनेटमा ए.पि.एफ.का कुुमार डोङ्ले गोल गरी खाता खोलेका थिए । खेलको ३०औं मिनेटमा एभरेष्टका तीर्थ बस्नेतले गोल फर्काए । खेलको ३२औं मिनेटमा पुनः एभरेष्टका हिसुप थपलियाले गोल गरे । ६९औं मिनेटमा एभरेष्टका निशान लिम्बूले गोल गरे भने खेलको ७४औं मिनेटमा एभरेस्टकै हिसुप थपलियाले गोल गरे ।
ता एपीएफका श्याम नेपालीले निर्धारित स खेलको थप समयको पहिलो मिनेटमा पुनः गोल गरेका थिए । ए.पि.एफ.ले खेल राम्रो खेले पनि गोल फर्काउन नसक्दा हार खेप्नुपर्यो। मंगलबारको खेलमा एभरेष्टका निशान लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्र्फि प्राप्त गरे ।
अब एभरेस्ट फुटबल क्लब र धनकुटा फुटबल क्लबबीच ७ गते सेमिफाइनल खेल हुनेछ । एभरेष्ट गत वर्षको बिजेता टिम हो । बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक बराहक्षेत्र फुटबल क्लब र चर्च ब्वाइज फुटबल क्लब काठमाडौं बीच हुने आयोजक क्लबका अध्यक्ष चन्द्रबहादुर मगरले बताए ।
आदर्श माबिको खेल मैदानमा कात्तिक ९ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी टिमलाई २ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ। यसैगरी उपबिजेताले १ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालय संयोजक तथा वडा १ र २ को कार्यालय सहसयोयोजक रहेका छन् ।