सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासस्थित सरस्वती माबीको खेलमैदानमा जारी १ नम्बर प्रदेश स्तरीय प्रथम राजाबास गोल्डकपको शनिबार भएको खेलमा टि.डि.वाइ.सी. फुटबल क्लब विराटनगर विजयी भएको छ । ३-० गोल अन्तरले आयोजक राजाबास युथ क्लबलाई पराजित गर्दै टि.डि.वाइ.सी. सेमिफाइनलमा पुगेको छ ।
टि.डि.वाइ.सी.का मिलन राईले खेलको ७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । खेलको १० मिनेटमा टि.डि.वाइ.सी.का भुवन बस्नेतले अर्को गोल गरे । पहिलो हाफसम्म टि.डि.वाइ.सी. एक्लैले दुई गोल बनायो । दोस्रो हाफ अर्थात खेलको ४९औं मिनेटमा पुनः भुवन बस्नेतले गोल गर्दै खेललाई अग्रता दिलाए ।
शनिबारको खेलमा टि.डि.वाइ.सी.का भुवन बस्नेत म्याच अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
राजाबास युथ क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा आइतबारको खेल रेड हर्ष क्लब इलाम र चर्च ब्याइज क्लब काठमाडौ बीच हुने क्लबका सचिव रोनि बिष्टले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी दोस्रो हुने टिमले ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।
उक्त प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको विशेष सहयोग रहेको छ । प्रायोजन भरत बिष्टले गरेका छन् । बराहक्षेत्र नगरपालिका कार्यालय संरक्षण रहेको छ । र वडा नम्बर ९ को पनि विशेष सहयोग रहेको छ ।