सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुदको उपाधि माद्यामिकतर्फ सिद्धार्थ मेमोरियल इङ्गलिस स्कुल बराहक्षेत्र ५ र आधारभुततर्फ सप्तकोसी विद्या मन्दिर स्कुल बराहक्षेत्र ७ ले जितेका छन् ।
एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल आधरभुत तर्फ पिसफुल इङलिस स्कुललाई १-० को गोल अन्तरले पराजित गर्दै सप्तकोसी विद्या मन्दिरले आधारभुत तर्फको उपाधि चुमेको हो ।
आधारभुत तहको खेलमा खेलको १०औं मिनेटमा सप्तकोसी विद्या मन्दिरका कुसल घिमिरेले गोल गर्दै खेललाई अग्रता दिएका थिए । बाँकी समय कुनै पनि गोल हुन नसक्दा घिमिरेले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्याच अफ द म्याच सप्तकोसी विद्या मन्दिरका कुसल घिमिरे घोषित भए । उनले ट्रफी प्राप्त गरेका छन् । आधारभुत तहको अन्य विधाअन्तर्गत हाइ स्कोरमा सप्तकोसीका अस्मित मगर, बेस्ट गोलरक्षक सप्तकोसीका पुकार कार्की, बेस्ट डिफेन्स पिसफुलका प्रसन राई, बेस्ट मिड फिल्डर आयोग तामाङ, बेस्ट फर्वाड सप्तकोसीका कुसल घिमिरे, प्लयेर अफ द सिरिज सप्तकोसीका अस्मित मगर र बेस्ट कोच सप्तकोसीका अमर मगर घोषित भए ।
सबै विधामा ट्रफि प्रदान गरिएको थियो । विजेता सप्तकोसी विद्या मन्दिरले १५ हजार रुपैयाँ नगदसहित २० तोलाको चादिँको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता पिसफुल इङलिस स्कुलले भने १० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
दोस्रो खेल माद्यामिक तहअन्तर्गत जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र १०लाई ३ – १ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको २६औं मिनेटमा सिद्धार्थका अजय चौधरीले फ्रिकिक मार्फत पहिलो गोल गरे । पहिलो हाफकै ३०औं मिनेटमा सिद्धार्थका राकेश बस्नेतले गोल गर्दै पहिलो हाफसम्म २ – ० को अवस्था बनाए ।
त्यस्तै दोस्रो हाफ अर्थात खेलको ४६औं मिनेटमा जय सप्तकोसीका पुजन उराँवले पहिलो गोल फर्काए । खेलको ५३औं मिनेटमा सिद्धार्थका दिपेश चौधरीले गोल गरे । उनको सो गोल नै अन्तिम गोल बन्दा सिद्धार्थले ३ – १ गोल अन्तरले जय सप्तकोसीलाई पराजित गरी उपाधि चुमेको हो ।
माद्यामिक तहमा खेलको म्याच अफ द म्याच सिद्धार्थका सौरभ धामी घोषित भए । सप्ताह खेलकुदको बेस्ट हाइस्कोर भरौल बाल मन्दिरका रितेस लिम्बु, बेस्ट गोलरक्षक जय सप्तकोसी इङलिसका पुजन उराँव बेस्ट गोलरक्षक सिर्द्धार्थका आकास कटुवाल बेस्ट डिफेन्स जय सप्तकोसीका सन्देश दाहाल, बेस्ट मिडफिल्डर सिद्धार्थका अजय चौधरी, बेस्ट फोर्बर जय सप्तकोसीका मनिष राई, प्लयेर अफ द सिरिज सिद्धार्थका अजय चौधरी र बेस्ट कोच जय सप्तकोसीका सनम मगर घोषित भए ।
सबै विधा अन्तर्गतका उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गरे । माद्यामिक स्तरमा उपाधि चुम्ने सिद्धार्थ मेमोरियल इङलिस स्कुलले १५ हजार रुपैयाँसहित २० तोला चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता जय सप्तकोसीले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक शरण लिम्बूले बताए ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा बराहक्षेत्र प्याब्सन नगर अध्यक्ष कृष्ण तामाङको सभापतित्व, बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यता, खेलकुद संघका जिल्ला महासचिव भेसराज कार्की, बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष रुद्र दाहाल, नगर शिक्षा शाखा प्रमुख उपसचिव डिल्लीराम अधिकारी, बराहक्षेत्र प्याब्सन सल्लाहकार संयोजक मोहन भट्टराई, विभिन्न राजनीतिकमी, समाजसेवीलगायतको आतिथ्यता रहेको थियो ।
खेल कात्तिक २२ देखि ३० गतेसम्म सञ्चालन भएको थियो । जसमा माद्यामिक स्तरमा १२ र आधारभुत स्तरमा ५ वटा निजि विद्यालयले सहभागी जनाएको प्याब्सन अध्यक्ष कृष्ण तामाङले बताए ।
सप्ताह खेलकुद प्रतियोगिता भरी एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको थियो भने विशेष सहयोग बराहक्षेत्र खेलकुद विकास समितिको रहेको थियो ।