सुनसरी । बराहक्षेत्र नगरपालिका ३ महेन्द्र माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार भएको प्रथम न्यु जेनेरेसन च्यालेन्ज कपको खेल तरहरा फुटबल क्लब तरहराले जितेको छ ।
तरहरा फुटबल क्लबले प्रकाशपुर युवा जमात प्रकाशपुरलाई ९ ८ गोल अन्तरले हराउँदै बिजयी भएको हो ।
खेलको पहिलो हाफमा तरहराका रोजन राईले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थिए । दोस्रो हाफको अन्तिम समयमा प्रकाशपुर युवा जमातका सचिन बुढाथोकीले गोल गर्दै खेल टाइब्रेकरमा पुगेको थियो ।
अत्यन्त रोमाञ्च रहेको खेल अन्तमा टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमार्फत ९ ८ गोल गर्दै तरहरा बिजयी भएको हो । यो सँगै तरहरा सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको म्यान अफ दि म्याच तरहरा फुटबल क्लबका गोलरक्षक बिप्लव पौडेल घोषित भए । उनलाई भरौल प्रहरी चौकीका प्रमुख बिनोद दाहालले ट्रफी हस्तान्तरण गरे ।
उक्त प्रतियोगितामा बराहक्षेत्र नगरपालिका ३ वडा कार्यालयको संयोजन र बराहक्षेत्र नगरपालिकाको कार्यालयको विशेष सहयोग रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रोले २० हजार रुपैयाँ र साथमा दुवैले मेडल र ट्रफी साथै प्रमाणपत्र पाउने मा आयोजक समितिका अध्यक्ष अजित राजधामिले बताए ।
आइतबारको खेल आयोजक न्यु जेनेरेसन युथ क्लब र रामधुनी फुटबल क्लब झुम्का बीच हुने आयोजकले जनाएको छ ।