साँझ झमक्कै हुन लागि सक्यो
यो मोटी साहुनीलाई के भा छ कुन्नि आज,
घर जाने छेकछन्दै छैन ।
भएभरका सब साथीहरूलाई एक एक गर्दै लगिसके,
पाकेकै फर्सि जस्तै भइयो आज, छुन नि नमान्ने कसैले,
हुन पनि कस्ति पहेलीँ हो, यो छुन पनि दिङदिङ लाग्ने,
म यस्ती हरियी हुँदा त मान्छे तर्सिन थालिसके ।
कोइ कोइ त यस्ता आउँछन्, बीचबाट बड्यान्ग भाँचेर हेर्ने अनि कलिलो भए मात्र लाने रे
सबलाई कलिलै मनपर्ने, छिप्पिए त कसैले आँखै नलाउने बाबै,
नकच्चराहरू ।।
***
बिहान करेलाले मलाइ फेसबुकमा देखेकि रे,
अरे यो सब कसरी ? छक्क पर्दै सोध्छु उसलाई,
भन्छेः “हिजोआज मान्छेहरू एक हातले भात खाने एक हातले फेसबुक चलाउन्छन के ।
अनि एक हातले मलाईउसको मुखमा लाँदा झट्ट मेरो आँखा उसको मोबाइलामा परो ।’’
आश्चर्य मान्दै सोध्छु उसलाईः “अनि म कस्ती देखिएकी थिएँ त्यहाँ ?’’
“कस्ति देखिनु र । कत्ति न आफूलाई सुन्दरी ठान्छे ।’’
कस्तो रूखो जवाफ हो यो करेलाको, हुन त तितो जातको न परि । कत्ति न ठूलो पल्टिन्छे ।
यसलाई त दक्षिणबाट आउनेले सात्तो खाएकै ठिक ।
करेलासँग झम्टाझम्टी देखेर होला, साहुनीले कर्कलोको छेउमा सारिन्,
छुइयो भने चिलाउला भनेर अलि कोल्टे परेर बस्छु ।
***
तैपनि साउति मार्छेः “भोली दक्षिणबाट धेरै आउने कुरा छ रे नि
हँ ?’’
उ थप्छे “अँ, अघि साहुनीले हिन्दीमा कुरा गर्दै थिन् ।’’
के भाको होला यो मोटी डल्ली हाँडीलाईः मनमनै सराप्छु ।
मेरी माइली काभ्रेमा बाटामै पल्टिराछे
उता धार्के, पालुङ अनि मकवानपुरतिरका नि बिचल्ली छ ।
अनि के गर्न लागेकी होली यो साहुनीले ।
विचरा ति किसान दाई, मलाई पाप लाग्छ होला तिनको,
कति स्याहारेर हुर्काको मलाई,
मैले उनको लागि केही गर्न सकिन
सब विचौलिया र यै मोटीले मात्र फाइदा लिए म बाट ।।
***
अइया ।। कसले हान्यो मलाई ?
साहुनीले झम्टिए झै लाग्यो
तर हातबाट मोबाइल चिप्लिया रैछ,
अचानक मोबाइलमा फेसबुक पो देखियो, दुखाई हरायो ।
फेसबुकमा असरल्ल मेरा सन्तानहरू देखेर जिउमा काँडा उम्रिए,
रौंहरू ठाडा भए,
यस्ता पनि हुँदा रैछन् है मान्छेहरू,
उ बेला टन्न खाने अहिले अनेक थरि कुरा गर्ने ।
बेवारिसे रे म,
घिमिरे र निरौलाको नाजायज सन्तान रे म ।
हे भगवान ।।
***
कत्रो मान इज्जत थियो मेरो, सबको चुलामा रजाई चल्थ्यो ।
मुटु र पेटका रोगीहरू मलाइखुबै सम्झिन्थे ।
अहिले हेर मेरो हालत, फुटेका आँखाले नि हेर्दैनन् ।
हैन मलाई कसरी खसीसँग दाँज्न सकेका होलान्,
कति ट्रोल बनाउन सक्याहोलान् ।
लगुनकति लान्छन् खसी,
अहिले खसी लान्छन् पछि खसीले लान्छ,
अनिचाल पाउँछन् घिरौला ठिक कि खसी ठिक ।।
कत्ति न दिनै खसीखानेजस्ताहरू ।।
***
यो सब कोरोनाको कारण हो ।
लकडाउनमा मान्छेहरू म देखि दुर भए
मेरा सन्तानहरू मरूभूमिको मृगजस्ता देखिएका छन्
के होला हाम्रो भविष्य
के कोरोनाकै कारण हेला गर्न पाइन्छ ?
खोई सरकार ? खोई अधिकारवादी ?
सोचमग्न हुन्छु, आक्रोशित हुन्छु ।
अनि फेरि,
मनलाई बहकाउँछु, सान्तवना दिन्छु,
के गर्नु, यस्तै त छ यहाँको चलन ।
***