भर्खरै राजधानीका सडकमा कलिला घामहरु देखा पर्न थालेका थिए । फागुन लागे पनि ठिही गइसकेको थिएन् । राजधानी न हो त्यति छिटो कहाँ जान्थ्यो र ? गोपाल नेपाल भिडमा बसेर पनि आफ्नै जिन्दगीलाई नियालिरहेका थिए । गाउँबाट शहरमा आएर बसेको पनि १० वर्ष भइसकेको थियो । उसो त शहरभन्दा गोपाललाई गाउँ नै औधी प्यारो लाग्थ्यो । शहरमा रहँदा पनि बरुणेश्वरको आँगन सम्झिरहेका हुन्थे । रनबन चहारेको सपना देख्थे । गाँउमा बा थिए । आमा थिइन् । आफूलाई प्यारो ठान्ने गाउँले थिए । गोपालले आफ्नो बिगत सम्झिए । बुढा हुँदै गरेका बा दिनहू घण्टौको बाटो पैदल हिँडेर स्कुल पुग्थे । आमाले झिसमिसेमा उठेर सकिनसकि काम गरेको सम्झे ।
०७४ मा त्यतिबेला नेपालले अमृत साइन्स क्याम्पसबाट बि.एस., सि.एस. आइटिमा स्नातक गरिसकेका थिए । उनका अगाडि दुई वटा विकल्प थिए । घर फर्किने वा राजधानी मै बसेर रोजगारी गर्ने । उनलाई शहरमा बसेर जागिरे बन्ने पटक्कै मन थिएन । उसो त राजधानीमा अवसरहरु पनि नपाएका होइनन् । तर किन किन गाँउमा बसेर नै सेवा गर्ने भावना जागृत भएको थियो । स्कुले जीवनबाट नै गोपालको समाजसेवा गर्ने धोको थियो । र, उनी ०७४ फागुनदेखि गाँउ फर्किए । गाउँमै बस्न थाले ।
गाउँपालिकाले आइटीमा रोजगार खुलायो । नाम निस्कियो । नाम निस्केको दिन खुसिले फुरुङ्ग भए । कम्तिमा गाउँमा बसेर सेवा गर्ने अवसर जो मिलेको थियो । बिदेसिने नेपालीमा उनलाई पर्नु थिएन । आफ्नो देश भन्दा पर बसेर कसैको सस्कृति अंगाल्नु थिएन । बरु उनलाई त जरायोटारको खेतमा पुगेर हिलाम्मे धरतीमा बाहुसे गर्ने मन थियो । मोलुङ खोलाको कन्चन पानिमा डुबुल्की मारेर निस्कनु थियो । कखरा नजानेका नानीहरुको, ओठमा हासो ल्याउन नसक्ने गाउँले आमाबुबामा हासो पो ल्याउनु थियो । यिनै कुरा सम्झिएर त गोपाल गाउँ फर्किएका थिए ।
गाउँमा उनी अब गोपाल नेपाल होइन, आइटी सरका नामले चिनिन थाले । सेवाग्राहीले दिएको आइटी सर उपनाम उनी सहजै स्वीकार्छन् । निरन्तर आइटीको काम गरिरहँदा र सेवाग्राहीलाई सेवा दिइरहँदा पाएको उपनाम थियो त्यो ।
आइटी सरको विषेश पहलमा मोलुङ गाउँपालिकामा सूचना प्रविधी सेवा केन्द्र साथै केन्द्रको दुईवटा माध्यमिक विध्यालय (बरुणेश्वर मा.वि. र शिवदुति मा. वि.)मा सूचना ल्याब पार्न सफल भएका छन् । कहिले मोलुङ खोलाको शिरमा बसेर हेर्छन त कहिले श्रीचौरका डाँडामा बसेर रामपुर टार नियाल्थे । जागिर त उनको गाउँपालिकामा आइटी विभाग हेर्ने थियो । तर गाउँमा सेवा गर्ने पहिलेदेखिकै चाहना के सकिन्थ्यो र । भनिन्न सरकारी काम गर्न थालेपछि अरु क्षेत्रमा समय दिन र काम गर्न खासै सकिँदैन । तर उनको हकमा यो भनाइ लागू हुँदैन । अनि फेरि जागिरेको इच्छाशक्ति र क्षमतामा पनि भर पर्छ । उनी कार्यालय समयमा गाउँपालिकाको कार्यालयबाट सेवाग्राहीलाई सेवा दिन्छन् । बाँकी समयमा गाउँमा सूचना प्रविधि भित्र्याउन, भित्र्याउन पहल गर्न र अबको पुस्तालाई इन्टरनेट र आइटीको ज्ञान दिन लागि पर्छन् । उनी अबको पुस्तामा इन्टरनेट सम्बन्धि ज्ञान हुनुपर्ने उनको भनाइ छ । त्यसैले त होला, गाउँमा कहिँकतै आवश्यक पर्ने वित्तिकै आफूले जानेका कुरा बुझाउन तत्पर हुन्छन् । अचेल कसैलाई केही पर्दा चाल पाउनासाथ पुगिहाल्छन आइटी सर । त्यती मात्र होइन, उनले बिभिन्न पर्यटकीय स्थलहरुको बारम्बार भ्रमण गरे । अनि मोलुङमा पर्यटकीय सम्भावनाका बिस्तृत अध्ययन समेत गरे । उनी गाउँ चिनाउन लागि परेका छन् । गाउँमा अबका पुस्तालाई आइटी ज्ञान बाँड्न थालेका छन् । आइटी सर अचेल समाजसेवी पनि बनेका छन् ।
गाउँमा बसेपछि उनले त्यहााका आवश्यकताहरु बुझे, बुझ्दैछन् पनि । रहरहरु बुझ्दैछन । स–साना बालबालिकालाई किताबी ज्ञान मात्र काफी हुँदैन भनेर बिभिन्न साहित्यका किताबहरु भेला पारेर मोलुङ बुक क्लब स्थापनाको पहिलो चरणमा छन् । गोपाल भन्छन्, ‘अब गाउँमा पनि किताब पढिन्छ ।’